साहित्यपोस्टप्रति हार्दिक आभार।
आँपको बोट
**********
लगभग सत्तर वर्ष अघि
बुबा, बैनी भेट्न जाँदा
कोसेली आँप लिएर जानु भएको।
भान्जा भान्जीहरूले
मामाले ल्याएको पापा भनेर
खुब रमाएर खाए आँप
कोया फ्याँकीदिए बारीमा
उम्रियो आँपको बोट।
अहिले प्रकाण्ड भएको छ रुख
निकै चराचुरुङ्गीहरूले हुर्काए बच्चा
लगाए गुँड, रमाए रुखमा
निरन्तर ,अविरल।
म आज त्यही रुखको फेदमा छु
न बुबा , न फुपुदिदी न भान्जा भान्जी
न त्यो घर! फगत एक्लो रुख!
ग्लोबेलाईजेसनको जमाना
कोई सात सागर तेर नदी पार
कोई कहाँ ,कोई कता
सात दशकमा सबै लाखापाखा
म फगत हेरि रहेको छु
सम्झि रहेको छु
बुबा भाइटिका लाउन
सापट लिएर जानु भएको
बैनी भेट्न।
आँपको रुख बोल्दैन
मेरो आन्तरिक भावना कसरी भनौं
न जल चढाउनु, न तोरण बाँध्नु
दाजु बैनी भेट्न जाँदा
सन्जोगले उम्रिएको ऊ।
मानौं मायाँको एक उपहार।
बाटो बन्दैछ त्यहाँ
काटिन्छ रे अब ऊ
म सँग अब एउटा
फोटो मात्र रहन्छ , स्मृतिको पोको
आयो याद बोकेर फेरि
भाइटिका!अनि आँपको रुख!
(भाइ टीकाको मङ्गलमय शुभकामना)
पुरुषोत्तम उपाध्याय दाहाल